नेपाल र ओमान आमनेसामने, के जोगिएला त नेपालको एकदिवसीय मान्यता?
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ। ओमानस्थित अल अमेरात क्रिकेट मैदान (मिनिस्ट्री टर्फ–१) मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना समाप्त भइसकेकाले नेपालका लागि अब आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य चुनौती बनेको छ। त्यसैले पनि आजको खेल नेपालका लागि निकै निर्णायक र महत्त्वपूर्ण मानिएको छ। गत आइतबार सम्पन्न खेलमा क्यानडालाई पराजित गर्दै शीर्ष ६ भित्र परेर ओडीआई मान्यता कायम राख्ने आशा जीवितै राखेको नेपालका लागि बाँकी खेलहरूमा जित निकाल्नुपर्ने कडा दबाब छ।
शृङ्खलाअन्तर्गत ओमान र क्यानडासँगका बाँकी चार खेलमध्ये कम्तीमा तीन खेलमा जित हात पार्न सके नेपालको शीर्ष छैटौँ स्थान सुरक्षित भई ओडीआई मान्यता कायम रहने गणितीय सम्भावना छ। नेपालले आजको खेलपछि आगामी शनिबार क्यानडासँग तथा कात्तिक २ गते पुनः ओमानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
कुल आठ टोली सहभागी यस लिग–२ मा अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले शीर्ष स्थान ओगट्दै सन् २०२७ को विश्वकप छनोटमा आफ्नो स्थान पक्का गरिसकेका छन्। जारी लिगमा नेपाल ३३ खेलबाट २६ अङ्क जोड्दै छैटौँ स्थानमा रहेको छ। यता २९ खेल खेलेको ओमान ३३ अङ्कसहित अगाडि छ भने ३४ खेलबाट २५ अङ्क बनाएको क्यानडा नेपालभन्दा एक स्थान तल छ। त्यसैगरी ३५ खेलबाट ३१ अङ्क जोडेको नामिबिया र ३२ खेलबाट १९ अङ्कसहित युएई तालिकाको पुछारमा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस