Techie IT
२०८३ भाद्र १३, शनिबार

भोटेकोशी बाढी: उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने


भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शवहरू सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने सम्पूर्ण यातायात खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ। प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको कोषमा आवश्यक रकम उपलब्ध गराइने आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जानकारी दिएका छन्। उनले उद्धार गरिएका व्यक्ति तथा शव घरसम्म लैजान स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्न आग्रह गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सेना र नेपाल प्रहरीद्वारा हवाई उद्धार तीव्र पारिएको छ, जसमा घाइते तथा जोखिमपूर्ण स्थानमा फसेका नागरिकलाई उच्च प्राथमिकता दिइएको छ। उद्धारको प्रतीक्षामा रहेका बाढीपीडितहरूलाई स्थानीय तहको सहकार्यमा खाद्यान्न तथा राहत सामग्रीसमेत वितरण गरिएको मन्त्री पौडेलले बताएका छन्। यसैबीच, मुख्यमन्त्री किरण थापामगरले गोसाईंकुण्ड क्षेत्रमा अलपत्र परेका १ हजार ५ सयभन्दा बढी तीर्थयात्रीलाई सुरक्षित रूपमा गन्तव्यमा फर्काउन विशेष सवारीसाधनको व्यवस्था गरी सम्बन्धित निकाय परिचालन गरिएको जानकारी दिएका छन्।

बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा तत्काल उद्धार तथा राहतका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार रसुवा र नुवाकोटलाई २/२ करोड तथा धादिङ र चितवनलाई ५०/५० लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराइएको छ।

यसका साथै, बाढीमा परी ज्यान गुमाएका मृतकका परिवारलाई अन्त्येष्टिका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिने निर्णय गरिएको छ। घरबारविहीन बनेका नागरिकका लागि अस्थायी बसोबास र भोजनको प्रबन्ध मिलाइएको छ भने अलपत्र यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। अवरुद्ध सडकहरू खुलाउने, वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने तथा आवश्यक स्थानमा बेलिब्रिज र झोलुंगे पुल निर्माण गर्ने प्रक्रियासमेत तीब्र पारिएको मन्त्री केसीले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट