होर्मुज जलमार्गमाथि ड्रोन खसालेको इरानी सेनाको दाबी
एजेन्सी । इरानी सेनाले रणनीतिक रूपले महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग र फारसको खाडीको जलक्षेत्रमाथि उडिरहेको एक जासुसी ड्रोन खसालेको दाबी गरेको छ ।
बीबीसी फारसीका अनुसार इरानको तस्निम समाचार एजेन्सीले सेनाको जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै उक्त ड्रोन नष्ट गरिएको जनाएको हो । सेनाको विज्ञप्तिमा भनिएको छ, "शत्रुको उक्त ड्रोनलाई स्वदेशमै विकसित हवाई रक्षा प्रणालीमार्फत पहिचान गरी नष्ट गरिएको हो ।"
यद्यपि, खसालिएको ड्रोन कुन देश वा कुन प्रकारको हो र घटना ठ्याक्कै कतिबेला भएको हो भन्नेबारे विज्ञप्तिमा केही खुलाइएको छैन । पछिल्ला हप्ताहरूमा इरानले होर्मुज जलमार्ग र आसपासका क्षेत्रमा अमेरिकी ड्रोनहरू खसालेको दाबी गर्दै आएको छ ।
यसअघि गत शुक्रबार पनि इरानले आफ्नो दक्षिण–पूर्वी सिस्तान र बलुचिस्तान प्रान्तमा एउटा ‘शत्रु’ ड्रोनलाई नियन्त्रणमा लिएर सुरक्षित रूपमा खसालेको जनाएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस