आजको मौसम : हिमाली भेगमा आंशिक बदली, बाँकी भूभाग सफा रहने
हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भूभागका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।
महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशको हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।
त्यसैगरी, भोलि (सोमबार) देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस