झारखण्डमा भीषण सडक दुर्घटना : चार बालबालिकासहित १३ जनाको मृत्यु
भारतको झारखण्डस्थित रामगढ जिल्लामा भएको भीषण सडक दुर्घटनामा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । राँची–पटना राजमार्ग (एनएच–३३) अन्तर्गत रामगढको कुजू प्रहरी चौकी क्षेत्रको पैंकीमा आइतबार बिहान करिब २ बजे स्कर्पियो गाडी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
बिहारको नालन्दा जिल्लाबाट १४ जना यात्रु बोकेर आएको उक्त स्कर्पियो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रामगढ सदर अस्पतालका सिभिल सर्जन अनिल कुमारका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा चार बालबालिका, चार महिला र पाँच पुरुष रहेका छन् । घाइते एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा पर्ने सबैजना बिहारको नालन्दा जिल्लाको बेन थाना क्षेत्रअन्तर्गत जंघारो गाउँका बासिन्दा हुन् । उनीहरू झारखण्डको रजरप्पास्थित प्रसिद्ध माँ छिन्नमस्तिका मन्दिरमा पूजाआजाका लागि जाँदै थिए ।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका थिए । क्षतिग्रस्त गाडीबाट यात्रुहरूको उद्धार गरी अस्पताल पुर्याइएको थियो । दुर्घटनाको यकिन कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस