जाजरकोटमा पहिरोमा परि घर पुरिँदा दुईजना बेपत्ता
जाजरकोटको भेरी नगरपालिकामा शनिबार साँझ गएको पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
भेरी नगरपालिका–१, खारुलामा पहिरोले घर पुर्दा ५४ वर्षीय उमासिंह खत्री र उनकी ८३ वर्षीया आमा रति खत्री बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी, सोही वडाको रिसार्गमा गएको पहिरोमा परेर ६० वर्षीय रामबहादुर शाही र ४५ वर्षीय सिद्धिबहादुर कामी घाइते भएका छन्। घाइतेमध्ये शाहीको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घाइते दुवै जनालाई प्राथमिक उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। गम्भीर घाइते शाहीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने कामीको स्थानीय अस्पतालमै उपचार भइरहेको छ।
पहिरोका कारण खारुलामा १, गैरीगाउँमा ४ र चिसापानीमा ३ वटा गरी कुल ८ वटा घरहरू पुरिएको विवरण प्राप्त भएको छ।
घटनालगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उद्धारका लागि खटिएको थियो। तर, निरन्तरको पहिरो र अवरुद्ध सडकका कारण सुरक्षाकर्मी अझै पनि घटनास्थलसम्म पुग्न नसकेको सहप्रवक्ता थापाले बताए। घटनास्थलमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस