युक्रेन युद्धमा करिब ५ लाख रुसी सैनिक मारिएको खुलासा
युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । रुसी सरकारी तथ्यांकको विश्लेषण गर्दै बीबीसीले यस्तो विवरण बाहिर ल्याएको हो ।
रुसी सरकारी तथ्यांकले युक्रेन युद्धका कारण रुसको मृत्युदरको स्वरूपमा आधारभूत परिवर्तन आएको देखाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनमै समाप्त हुने अनुमान गरेको युद्ध सुरु भएको करिब पाँच वर्ष पुग्न लाग्दा रुसले ठूलो मानवीय मूल्य चुकाउनु परेको तथ्यांकले पुष्टि गरेको छ ।
बेलारुसको ह्याकर समूह ‘साइबर पार्टिजन्स बीवाई’ र युक्रेनको ‘साइलेन्ट क्रो’ ले गरेको साइबर आक्रमणपछि चुहिएको सन् २०२१ देखि सन् २०२६ सेप्टेम्बरसम्मका १ करोड १० लाखभन्दा बढी मृत्यु अभिलेखमा बीबीसी रुसी सेवाले पहुँच पाएको थियो । रुसको तथ्यांकसम्बन्धी सरकारी निकाय ‘रोसस्टाट’ ले साइबर आक्रमण भएको स्वीकार गरे पनि सुरक्षित सूचना चुहिएको दाबी अस्वीकार गरेको छ ।
बीबीसी रुसी सेवा र स्वतन्त्र रुसी सञ्चारमाध्यम ‘मिडियाजोना’ ले युद्ध सुरु भएयता खुला स्रोतबाट संकलन गरेका प्रमाणित सैनिक मृत्यु विवरणसँग रोसस्टाटको तथ्यांक भिडाएका थिए । त्यसक्रममा रोसस्टाटका ९० प्रतिशत अभिलेख आफ्ना विवरणसँग मेल खाएको बीबीसीले जनाएको छ ।
तथ्यांकअनुसार सन् २०२५ मा रुसमा ज्यान गुमाएका १८ देखि २४ वर्ष उमेर समूहका ६५ प्रतिशत युवाको मृत्यु युद्धमा भएको थियो । त्यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहमा यो अनुपात ५९ प्रतिशत छ । ४५ देखि ५४ वर्ष उमेर समूहमा मात्र युद्धभन्दा मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण बढी रुसी नागरिकको मृत्यु भएको देखिएको छ ।
तथ्यांकले युक्रेनका निश्चित क्षेत्रहरूमा भएको भयावह मानवीय क्षतिलाई समेत उजागर गरेको छ । युद्धअघि जम्मा १२ हजार जनसंख्या रहेका युक्रेनका १० वटा गाउँ कब्जा गर्ने लडाइँमा करिब २० हजार रुसी सैनिक मारिएका छन् । दोनेत्स्क क्षेत्रको बाख्मुत सहरदक्षिणको ‘आन्द्रिभका’ नामक सानो गाउँको लडाइँमा मात्र १ हजार १२२ रुसी सैनिकले ज्यान गुमाएका छन्, जहाँ युद्धअघि जम्मा ७४ जना मानिस बस्थे ।
सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएयता रुसले आफ्नो सैन्य क्षतिको सार्वजनिक विवरण दिएको छैन । उल्टै दुई वर्षअघि रोसस्टाटले सैन्य क्षति अनुमान गर्न प्रयोग गरिने बाह्य कारणबाट हुने मृत्युको तथ्यांक प्रकाशन गर्न बन्द गरेको थियो । उदाहरणका लागि, रुसी सेनामा आबद्ध भई लडेका पूर्वी युक्रेनको दोनेत्स्क र लुहान्स्क क्षेत्रका सैनिकहरूको प्रमाणित मृत्युमध्ये ७० प्रतिशत मात्र रोसस्टाटको फाइलमा समेटिएको छ ।
कसरी निकालियो करिब पाँच लाख मृत्युको तथ्यांक ?
रोसस्टाटको चुहिएको तथ्यांकमा मृतकको नाम नभए पनि उमेर, बसोबासको स्थान, मृत्यु भएको ठाउँ र मृत्युको परिस्थितिसम्बन्धी विवरण समावेश छ ।
बीबीसीले सुरुमा युक्रेन तथा युक्रेनी सेना प्रवेश गरेका रुसका सीमावर्ती क्षेत्रका मृत्यु अभिलेख छुट्याएको थियो । त्यसपछि सैन्य कारबाहीका क्रममा भएका विस्फोट तथा छर्राजस्ता युद्धसँग प्रत्यक्ष जोडिएका कारणबाट मृत्यु भएका ४ लाख २५ हजार १७४ वटा अभिलेख पहिचान गरिएको थियो ।
उक्त संख्यामा सर्वसाधारण पनि पर्न सक्ने भएकाले महिला तथा १८ देखि ६५ वर्ष उमेर समूहबाहिरका पुरुषलाई गणनाबाट हटाइएको थियो । रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा बसोबास गर्ने र त्यहीँ मृत्यु भएका व्यक्तिलाई पनि सैन्य सेवाको अभिलेख भेटिएको अवस्थामा बाहेक सर्वसाधारण मानेर हटाइएको थियो ।
त्यस्तै, रोजगारीसम्बन्धी विवरणका आधारमा थप १४ हजार ९३ वटा अभिलेख पहिचान गरिएको थियो भने युद्ध क्षेत्रमा बेपत्ता भई छ महिनाभन्दा बढी समयसम्म शव फेला नपरेपछि अदालतको आदेशबाट मृत घोषित गरिएका ५१ हजार ६७ जनालाई पनि गणनामा समावेश गरिएको थियो । यी विवरणमा समेत युद्ध प्रभावित क्षेत्रबाहिरका सर्वसाधारणको मृत्यु हटाइएको बीबीसीले जनाएको छ ।
बीबीसी रुसी सेवा र मिडियाजोनाले आधिकारिक विवरण, सामाजिक सञ्जालका पोस्ट, नयाँ स्मारक तथा चिहानहरूको अध्ययनबाट हालसम्म २ लाख ९० हजार १२ रुसी सैनिकको मृत्यु पुष्टि गरेका छन् । सबै मृत्युको विवरण सार्वजनिक नहुने भएकाले वास्तविक मृतक संख्या अझै बढी हुन सक्ने उनीहरूको निष्कर्ष छ ।



तपाईको प्रतिक्रिया दिनुहोस