संविधान मिचेर स्थानीय र प्रदेश चुनाव एकैपटक गरे दुर्घटना निम्तिने प्रचण्डको चेतावनी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् । संविधान र प्रचलित कानुनको व्यवस्थाविपरीत दुवै तहको निर्वाचन एकैपटक गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।
आज भक्तपुरमा नेकपा जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रममा बोल्दै दाहालले स्थानीय र प्रदेश सरकारले संविधानले तोकेको पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनुपर्नेमा जोड दिएका थिए । निर्वाचन आयोगले दलका प्रमुख नेताहरूसँग गरेको छलफलमा केही पक्षबाट दुवै निर्वाचन एकैपटक गर्ने वा प्रदेशको पहिले गर्ने विषय उठेको जानकारी दिँदै उनले कार्यकालकै आधारमा छुट्टाछुट्टै निर्वाचन हुनुपर्ने बताएका छन् ।
“स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर अलग–अलग मितिमा निर्वाचन गर्नुपर्छ” प्रचण्डले भने । निर्वाचन आयोगले पनि दुईपटक नै चुनाव गर्नु संविधान र कानुनसम्मत हुने स्पष्ट पारिसकेको छ । एक ठाउँमा संविधान र कानुन मिच्ने बाटो खोलिए त्यसले अन्य संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठाउने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गरी देशमा अर्को राजनीतिक दुर्घटना निम्त्याउन सक्ने चेतावनीसमेत उनले दिए ।
सोही कार्यक्रममा दाहालले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाउँदै उनले षड्यन्त्रकारीविरुद्ध ‘जिहाद’ छेड्नुपर्ने बेला आउँदै गरेको र राष्ट्रिय जागरण अभियान त्यसैको तयारी भएको जिकिर गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस