विनाशकारी बाढी प्रभावित क्षेत्रमा भारतीय नागरिकको उद्धार गर्ने नेपाली सेनाप्रति भारतको उच्च प्रशंसा
नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली सेनाले पुर्याएको महत्त्वपूर्ण योगदानप्रति भारतीय नागरिक तथा भारत सरकारले उच्च प्रशंसा गरेका छन्।
बाढीका कारण प्रभावित क्षेत्रमा अलपत्र परेका भारतीय पर्यटक, तीर्थयात्री तथा कामदारलाई सुरक्षित उद्धार गर्नुका साथै खाना र आश्रयको प्रबन्ध मिलाएको भन्दै भारतका विदेशमन्त्री डा. एस जयशंकरले नेपाल सरकार र नेपाली सेनाप्रति आभार व्यक्त गरेका छन्।
विशेषगरी, तमिलनाडुबाट आएका २१ जना तीर्थयात्रीसहित विभिन्न जलविद्युत् आयोजना र अन्य क्षेत्रमा फसेका सयौं भारतीय नागरिकलाई नेपाली सेनाले जोखिम मोलेर सकुशल उद्धार गरेको थियो। भारत फर्केपछि उद्धार गरिएका नागरिकहरूसँगको भेटका क्रममा विदेशमन्त्री जयशंकरले संकटको घडीमा नेपालले देखाएको मानवीय भावनाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका हुन्।
यसैबीच, नेपालको उद्धार तथा राहत अभियानमा ऐक्यबद्धता जनाउँदै भारतले पनि सहयोगको हात अघि बढाएको छ। हालसम्म भारतले नेपाल सरकारलाई करिब ५७.५ मेट्रिक टन मानवीय सहायता सामग्री हस्तान्तरण गरिसकेको छ। साथै, भारतबाट आएको ११ सदस्यीय मेडिकल तथा टनेल उद्धार विशेषज्ञ टोलीले बाढी प्रभावित क्षेत्रका सुरुङहरूको स्थलगत निरीक्षण (रेकी) गरी प्राविधिक अध्ययन सम्पन्न गरेको छ। सोही टोलीको सिफारिस र आवश्यकताका आधारमा थप अत्याधुनिक उपकरणसहितको विशेषज्ञ टोलीसमेत नेपाल आउने तयारीमा रहेको बताइएको छ।
संकटको यस समयमा नेपाली सेनाले भारतीय नागरिकहरूको संरक्षणमा खेलेको प्रभावकारी भूमिकालाई दुई देशबीचको आत्मीय सम्बन्ध र सहकार्यको गतिलो उदाहरणका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस