Techie IT
२०८३ भाद्र १३, शनिबार

बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरद्वारा निःशुल्क बस सेवा सुरु


काठमाडौँ महानगरपालिकाले हालैको बाढीपहिराका कारण प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धारका लागि स्थलमार्गबाट निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ। नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्म सञ्चालन गरिएको यो सेवा अन्तर्गत शुक्रबार पहिलो दिन १९ जना अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याइएको छ। 

उद्धार गरिएकाहरूमा २ बालबालिका, ९ महिला र ८ पुरुष रहेका छन्। पहिलो दिन एउटा गाडीबाट थालिएको यो अभियानलाई अझ प्रभावकारी बनाउन शनिबारबाट दुईवटा सवारीसाधन सञ्चालनमा ल्याइएको छ। महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको १० सिट क्षमताको गाडी (०३० च ७३६४) र यसअघि रसुवा–काठमाडौँ रुटमा चल्ने १९ सिट क्षमताको अर्को गाडी (००६ ख ९३३९) मार्फत दैनिक दुई पटक यात्रु ओसार्ने व्यवस्था मिलाइएको छ।

रसुवा र नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा कार्यस्थल भई विपद्का कारण अलपत्र परेका र काठमाडौँ फर्किन चाहने नागरिकहरू तथा प्रभावित क्षेत्रमा आफ्ना आफन्तको खोजी गर्न जानुपर्ने व्यक्तिहरूका लागि यो सेवा लक्षित गरिएको छ। सेवालाई सुरक्षित र व्यवस्थित बनाउन दुवै सवारीसाधनको अगाडि र पछाडि प्रस्ट ब्यानर राखिनुका साथै नगर प्रहरी समेत खटाइएको छ भने यात्रुहरूको माग र आवश्यकताका आधारमा आगामी दिनमा गाडीको सङ्ख्या थप बढाइने महानगरपालिकाले जनाएको छ। 

यसैबीच, विपद्को यो घडीमा अग्रपङ्क्तिमा खटिएर उद्धार तथा राहत कार्यमा अरा खटिने जनशक्तिको मनोबल उच्च राख्न र उनीहरूलाई प्रोत्साहित गर्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर लगायतका पदाधिकारीहरूले सभा गृहमा पुगी खटिएका कर्मचारी तथा चालकहरूलाई भेटघाट गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट