Techie IT
२०८३ जेष्ठ १३, बुधबार

दसैँमा मौलिक मूल्यको संरक्षण र नविनताका लागि प्रचण्डको आह्वान


पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यमान रूढिवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताए।

'देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरुरी छ', अध्यक्ष दाहालले भनेका छन्, 'यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ।'

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दसैँ पर्वलाई पारिवारिक र सामाजिक पुनःमिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन सबैमा अपील गरेका छन्। विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मेलमिलापमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले यसलाई विश्वभर पुनःमिलनको सबैभन्दा ठूलो उत्सवका रूपमा स्थापित हुन लागेको बताएका छन्।

साथै, बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत, पुनःस्थापना र भत्किएका संरचनाहरूको पुनर्निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। दाहालले विपत्तिको सामना गर्दै अघि बढ्न सबैलाई प्रेरित गर्दै विजयदशमी २०८१ ले राष्ट्रिय एकता, सहिष्णुता, सद्भाव र शक्ति दिने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट