Techie IT
२०८३ कार्तिक ४, मंगलबार

हिंसात्मक प्रदर्शनपछि फ्रान्सका प्रमुख शहरहरूमा आंशिक कर्फ्यु


पेरिसको प्लास दे ला रिपब्लिक क्षेत्रमा भएको कारमा आगजनी । Photo: Reuters

देशभर फैलिएको हिंसात्मक प्रदर्शन र लुटपाट नियन्त्रण गर्न फ्रान्स सरकारले राजधानी पेरिससहित विभिन्न प्रमुख शहरहरूमा आंशिक कर्फ्यु लगाउने घोषणा गरेको छ। सार्वजनिक सुरक्षा कायम गर्न, निजी तथा सरकारी सम्पत्तिको संरक्षण गर्न र थप हिंसा भड्किन नदिन सरकारले यो कदम चालेको हो।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार क्षेत्रीय प्रशासकहरूलाई हिंसा प्रभावित क्षेत्रहरूमा स्थानीयस्तरमै केन्द्रित भई आंशिक कर्फ्यु लागू गर्न निर्देशन दिनुभएको छ। विद्यार्थीहरूले महँगी र शिक्षा सुधारको माग गर्दै सुरु गरेको आन्दोलन हिंसात्मक झडपमा परिणत भएपछि फ्रान्समा पछिल्ला केही वर्षयताकै गम्भीर सडक हिंसा भड्किएको अधिकारीहरूले बताएका छन्।

आन्दोलनका क्रममा भड्किएको दङ्गा, आगजनी र लुटपाटमा परी दुई जनाको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। स्थिति नियन्त्रणमा ल्याउन सुरक्षा निकायले अपनाएको रणनीति र कमजोरीहरूबारे सरकारले समीक्षा सुरु गरेको छ।

सोमबार रातिदेखि लागू हुने गरी पेरिसको प्लास द ला रिपुब्लिक र लेस आल्स किनमेल क्षेत्र आसपासका सडकहरूमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ। साथै, प्रहरीले पेरिसभर राति ८ बजेपछि कुनै पनि सभा तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। लियोँ, निस, मार्से र लिल शहरका साथै विभिन्न क्षेत्रमा नाबालिगहरूलाई लक्षित गरी रात्रिकालीन कर्फ्यु लागू गरिएको छ।

गृहमन्त्रीको राजीनामा अस्वीकार

गम्भीर सुरक्षा कमजोरी र दङ्गा नियन्त्रणमा असफलताको आलोचना भएपछि गृहमन्त्री लोरा नुनेजले आफ्नो पदबाट राजीनामाको प्रस्ताव गर्नुभएको थियो। तर, राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्रीको राजीनामा अस्वीकार गर्दै उनलाई पदमै रहेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री लेकोर्नुले स्थिति जटिल बन्दै गएमा देशमा संकटकाल घोषणा गर्नेसम्मको विकल्प खुला रहेको भए पनि हाललाई आंशिक कर्फ्यु नै उपयुक्त देखिएको बताउनुभयो।

विद्यार्थी र शिक्षकहरूको छाता संगठनहरूले सुरु गरेको यो आन्दोलन अहिले बढेर महँगी, बेरोजगारी र जीवनस्तरको खस्किँदो अवस्थाविरुद्ध राष्ट्रव्यापी प्रदर्शनमा रूपान्तरण भएको छ। फ्रान्समा भड्किएको यो प्रदर्शनको असन्तुष्टि छिमेकी युरोपेली मुलुकहरू इटाली, बेल्जियम, पोर्चुगल र अल्बानियासम्म फैलन थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट