Techie IT
२०८३ कार्तिक ५, बुधबार

आज विजयादशमी: विहान १०:२६ बजे टीकाको उत्तम साइत


असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार देवी विसर्जनको साइत आज बिहान ८:४९ बजे रहेको छ भने टीका ग्रहणका लागि बिहान १०:२६ बजेको समय उत्तम छ। 

विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणका लागि दिनभरिनै टीका लगाउन कुनै साइत हेर्नुनपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। तर, राज्य सञ्चालकहरूले भने शुभ शक्ति र उत्साह प्राप्तिका लागि शास्त्रीय मान्यताअनुसार साइतमै टीका लगाउनुपर्ने उनले बताए।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी मान्यजनबाट टीका-जमरा लगाउने परम्परा छ। आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट प्रसाद ग्रहण गर्न सक्नेछन्।

धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम र टीका लगाइदिने व्यक्ति पूर्व फर्कनुपर्छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले शास्त्रानुसार यो विधि अपनाउनुपर्ने हुन्छ।

त्यस्तै, घटस्थापनामा राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ, जसले विभिन्न रोग-व्याधमा औषधिको काम गर्ने तथ्य वैज्ञानिक रूपमा पनि पुष्टि भइसकेको छ।

त्रेता युगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गरेकाले यो दिनलाई विजयको प्रतीक मानिन्छ। आजका दिन गुरु, पुरोहित, अभिभावक तथा मान्यजनबाट यश, ऐश्वर्य, कार्यक्षमता वृद्धि र दीर्घायुको आशीर्वाद लिइन्छ।

पुरुषहरूलाई टीका लगाउँदा अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो श्री, रामको जस्तो शत्रुनाश, नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शूरता, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता र विदुरको जस्तो ज्ञान प्राप्त होस् भनी ‘आयुद्रोणसुते...’ मन्त्रबाट आशीर्वाद दिइन्छ।

महिलाहरूलाई भने दुर्गा देवीको स्वरूप मानेर ‘जयन्ती मङ्गला काली...’ मन्त्रद्वारा सुख, शान्ति र प्रगतिको कामना गरिन्छ।

नेपालका कतिपय समुदायमा विजयादशमीका दिन मात्र टीका लगाउने चलन छ भने कतिपय क्षेत्रमा पूर्णिमासम्मै आफन्तजनकहाँ जाने क्रम चल्छ। केही जाति तथा समुदायले भने कुल परम्पराअनुसार अक्षतामा दही मिसाएर सेतो टीका र जमरा लगाउने गर्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट