रास्वपाले तोक्यो उपनिर्वाचनका लागि जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालन जिम्मेवारी तोकेको छ।
पार्टीको केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले पार्टीका प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालन जिम्मा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकले कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा बिन्दाबासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदुरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई निर्वाचन परिचालनको जिम्मेवारी दिएको छ।
उम्मेदवारी आवेदनका लागि ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिको फारम भर्न समेत सूचना जारी भएको छ। प्रारम्भिक निर्वाचन कार्यतालिका पनि तयार पारिएको प्रवक्ता झाले बताए।
उपनिर्वाचनका लागि उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने र आवश्यकता परे ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने संयोजक पराजुलीले बताएका छन् । उनले उम्मेदवार चयनपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गरिने जानकारी गरे।
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि ४४ रिक्त पदका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस