नक्कली सिफारिसपत्रमार्फत चन्दा संकलन गर्ने दुई युवा खोटाङमा पक्राउ

खोटाङ, १८ मंसिर: बोल्न नसक्ने र कान नसुन्ने व्यक्तिको रुपमा नक्कली सिफारिसपत्र देखाउँदै चन्दा संकलन गरिरहेका दुई युवालाई खोटाङको ऐसेलुखर्कबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्द्रराम चमार रहेका छन्।
प्रहरीले सोमबार इलाका प्रहरी कार्यालय ऐसेलुखर्कको टोलीले शहीद लखन गाउँपालिका–११ को नक्कली सिफारिसपत्र प्रयोग गरी चन्दा संकलन गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो। उक्त सिफारिसपत्रमा जन्मदेखि नै बोल्न नसक्ने र कान नसुन्ने उल्लेख भए पनि पक्राउ परेका दुवै व्यक्तिले सामान्य रूपमा बोल्न र सुन्न सक्ने प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी मोहन पोखरेलले घटनाबारे जानकारी दिँदै भने, "शहीद लखन गाउँपालिकामा जम्मा नौ वटा वडा छन्। तर, उनीहरूले प्रयोग गरेको सिफारिसपत्रमा वडा नं ११ उल्लेख गरिएको थियो। पत्रमा वडाध्यक्षको हस्ताक्षर देखिए पनि नाम उल्लेख थिएन।"
पक्राउ परेका व्यक्तिहरूमाथि अवैध चन्दा ऐनअन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धानका लागि खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको छ। उनीहरूको साथबाट विभिन्न नक्कली कागजात, बिरामीका फोटो, र नगद रु १७,७६० बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण दिँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने, "दुवै जनाले एक जनाबाट बढीमा रु १,००० सम्म संकलन गरेको देखिन्छ। उनीहरूविरुद्ध कीर्ते र जालसाजीसम्बन्धी मुद्धामा अनुसन्धान अघि बढाइएको छ।"
तपाईको प्रतिक्रिया दिनुहोस