नेकपा एमालेको सचिवालय बैठक आज बस्दै, उपसभामुख हटाउने विषयमा छलफल हुने
नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका विभिन्न कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ।
एमालेका कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा विशेषगरी समसामयिक राजनीतिक परिस्थितिसँगै हालै सम्पन्न पोलिटब्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावमाथि समेत छलफल हुनेछ। भदौ १८ र १९ गते बसेको पोलिटब्युरो बैठकले सदस्यहरूले दिएका सुझावलाई समेट्दै पार्टी सचिवालयलाई कार्ययोजनाको अन्तिम रुप दिन जिम्मा दिएको थियो।
आजको सचिवालय बैठकमा शुक्रबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक र उपसभामुख इन्दिरा रानामगरको विषय प्रवेश गर्ने सम्भावना पनि छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए। ओलीले तीन शीर्ष नेताबीच भएको छलफल र त्यसबाट उत्पन्न राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यहरूलाई जानकारी गराउने सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस