Techie IT
२०८३ श्रावण ११, सोमबार

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व अहिलेको विश्व राजनीतिक परिदृश्यमा झन् बढ्दै गएको बताएका छन्। आज बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाललाई विश्व राजनीतिक टकरावबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न शान्ति क्षेत्रको प्रस्तावलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।

प्रचण्डले पञ्चायतकालमा यस प्रस्तावको पक्ष–विपक्षमा विभिन्न मत रहेको तर अहिलेको परिवर्तित राजनीतिक र विश्व परिस्थितिमा यसले नेपाललाई राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सहयोग गर्ने धारणा व्यक्त गरे। उनले शान्ति क्षेत्रको प्रस्तावलाई देश बचाउने महत्वपूर्ण एजेण्डाका रूपमा अघि सार्नुपर्ने बताए।

उक्त शान्ति क्षेत्रको प्रस्ताव २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेका थिए, जसलाई १३० भन्दा बढी देशले समर्थन गरे पनि भारतले अस्वीकार गरेको थियो। अहिले, वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको नेतृत्वमा गठित अभियानले पुन: शान्ति क्षेत्रको प्रस्तावलाई अघि बढाउन पहल गरिरहेको छ।

प्रचण्डले आफ्नो पार्टीभित्र पनि यस विषयमा खुला छलफल गर्ने र आवश्यक परे केन्द्रीय समिति बैठकबाट प्रस्तावको रूपमा लैजान सकिने बताएका छन्। साथै, उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र मान्दै, यसलाई शान्ति क्षेत्रको रूपमा स्थापित गर्न आवश्यक भएको बताए।

यस अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा शान्ति क्षेत्रको मुद्दा उठाउन आग्रह गरेको छ। दाङबाट सुरु भएको अभियानले लुम्बिनी, काठमाडौं र अन्य विभिन्न स्थानमा विचार गोष्ठीहरू गरिसकेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट