Techie IT
२०८२ मंसिर ५, शुक्रबार

जब वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीलाई भने - तपाईं पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुस्


नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

बिहीबार बसेको सचिवालय बैठकमा पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई सक्रिय राजनीतिबाट अवकाश लिएर अभिभावकीय भूमिकामा बस्न सुझाव दिएका थिए। उनले बैठकमा राखेको आफ्नो धारणा प्रस्तुत गर्दै पार्टी हांक्ने जिम्मेवारी अब आफूले लिनुपर्ने बताएका थिए।

एक सचिवालय सदस्यका अनुसार पोखरेलले बैठकमा ओलीलाई तपाईं पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुस्। म अब पार्टी हाँक्छु। यदि नमाने महाधिवेशनमा प्रतिस्पर्धा गर्छु। तपाईंका पछिल्ला कार्यशैली, व्यवहार, दृष्टिकोण र निर्णयहरू ठिक छैनन्, जनताले पनि रुचाएका छैनन् भनेका थिए । 

पोखरेलले भदौ २३ र २४ का घटनाहरू तथा त्यसपछिको अवस्थाको विश्लेषण गर्दै ओलीलाई पदबाट हट्न सुझाव दिएका थिए। जवाफमा ओलीले आफू पद नछोड्ने स्पष्ट पार्दै प्रतिस्पर्धा गर्ने हो भने स्वस्थ प्रतिस्पर्धाका लागि तयार रहने चेतावनी दिएका थिए।

ओलीले भनेका थिए, ‘प्रतिस्पर्धा गर्न पाइन्छ, तर पार्टी एकता कायम हुनुपर्छ। विगतमा प्रतिस्पर्धा गर्नेहरू अहिले कहाँ छन् भन्ने पनि ख्याल गर्नुहोला। ठीक छ, प्रतिस्पर्धा गरौँ।’

ओलीको प्रतिक्रिया आएपछि पोखरेलले आफू “माधव नेपाल र भीम रावलको लाइन”मा नरहेको स्पष्ट पारेका थिए। एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुने छ।

पोखरेललाई पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको साथ रहने बताइएको छ। बैठकमा नेताहरूले विद्याको सदस्यताबारे प्रश्न उठाउँदा ओलीले कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ।

बैठकमा मधेस प्रदेशको राजनीतिक तनावबारे छलफल हुँदा महासचिव शंकर पोखरेलले मुख्यमन्त्री सरोज यादवले राजीनामा दिनु उचित हुने धारणा राखेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट