Techie IT
२०८३ मंसिर ७, आइतबार

प्रधानमन्त्री बालेनलाई बेइजिङ भित्र्याउन चीनको तीव्र दौडधुप


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको अन्तिम तयारी भइरहँदा उत्तरी छिमेकी चीनले पनि उनलाई बेइजिङ भ्रमण गराउन कूटनीतिक पहल तीव्र पारेको छ ।

बालेन प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनले भ्रमणको निम्तो पठाएको थियो । तर, त्यतिबेला प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको एक वर्षसम्म कुनै पनि विदेश भ्रमणमा ननिस्कने अडान लिएपछि प्रक्रिया रोकिएको थियो । अहिले प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चुलिएसँगै चीनले पुनः भ्रमणको चाँजोपाँजो मिलाउन सक्रियता बढाएको हो ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चिनियाँ पक्षले प्रधानमन्त्री शाहलाई छिट्टै चीन भ्रमण गराउन चाहेको छ । यसका लागि नेपालस्थित चिनियाँ राजदूत झाङ माओमिङले राजनीतिक तथा कूटनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । स्रोतका अनुसार राजदूत माओमिङले मंसिर ३ गते परराष्ट्रमन्त्री शिशिर खनाल र त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरी प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक प्रस्ताव राखेका छन् । यस विषयमा प्रधानमन्त्री कार्यालयसँग समेत छलफल भइसकेको छ भने परराष्ट्र मन्त्रालयले भ्रमणको प्रारम्भिक गृहकार्य थालिसकेको छ ।

चीनको मुख्य चासो 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई) परियोजनाको कार्यान्वयनमा रहेको कूटनीतिक वृत्तको बुझाइ छ । वर्तमान सरकार गठन भएलगत्तै चीनले विभिन्न माध्यमबाट बीआरआई अघि बढाउन चासो देखाए पनि सरकारले यस विषयमा ठोस छलफल सुरु गरेको छैन । बीआरआई कार्यान्वयनमा देखिएको यही सुस्तता चिर्न चीनले उच्चस्तरीय भ्रमणमा जोड दिएको हो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्री तथा सांसदहरूले चीनको भ्रमण गरिसकेका छन् भने हाल पनि २० जना सांसद चीन भ्रमणमै छन् । चीनले रास्वपा सभापति रवि लामिछानेलाई समेत भ्रमण गराउने तयारी अन्तिम चरणमा पुर्‍याएको थियो । औपचारिक मिति घोषणा हुन मात्र बाँकी रहँदा लामिछानेको भ्रमण अचानक स्थगित भएपछि बेइजिङले अब सिधै प्रधानमन्त्री बालेनलाई नै भ्रमण गराउने रणनीति लिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट