कर्णाली र लुम्बिनीका ८ जिल्लामा दसौँ राष्ट्रिय खेलकुद हुने : कुन खेल कहाँ ?
काठमाडौँ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताका खेलहरू कर्णाली प्रदेशका ६ र लुम्बिनी प्रदेशका २ गरी कुल ८ जिल्लामा हुनेछन् ।
राखेपका सदस्यसचिव रामचरित्र मेहत्ताका अनुसार कुल ३२ खेलमध्ये सबैभन्दा बढी २२ वटा खेल सुर्खेतका विभिन्न स्थानमा सञ्चालन हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपाकताक्रो, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र ई–स्पोर्ट्स खेल हुनेछन् ।
सदस्यसचिव मेहत्ताका अनुसार बाँके (नेपालगञ्ज), बर्दिया र सल्यानमा दुई–दुईवटा खेल हुनेछन् । जसअनुसार नेपालगञ्जमा पौडी र सुटिङ, बर्दियामा टेनिस तथा महिला र पुरुष खो–खो र सल्यानमा जुडो र कुस्ती सञ्चालन गरिनेछ । यस्तै, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल हुनेछन्, जसमा जुम्लामा महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल, कालीकोटमा बुद्धिचाल, दैलेखमा आईटीएफ तेक्वान्दो र रुकुमपश्चिममा शारीरिक सुगठन रहेका छन् ।
प्रतियोगिताको औपचारिक समुद्घाटन मङ्सिर १६ गते गरिने तय भए पनि केही खेलहरू भने मङ्सिर ८ गतेदेखि नै सुरु हुने राखेपले जनाएको छ । प्रतियोगितामा ६ हजार खेलाडी र ३ हजार अफिसियल गरी करिब ९ हजार जनाको सहभागिता रहने आयोजकको अनुमान छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरी काम अघि बढाइएको उनले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस