जसपा नेपालले आजदेखि सङ्घर्षका कार्यक्रमहरू सुरु गर्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रमहरू सुरु गर्दैछ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले आफ्ना मुख्य माग र राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । घोषित कार्यक्रमअनुसार आज (बुधबार) सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ।
जसपा नेपालले मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर-बजारहरूमा विरोध कार्यक्रम र कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।
त्यसैगरी, पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड र ब्यानरसहित मङ्सिर १९ र २१ गते जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ। यसैगरी, मङ्सिर २७ देखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोध सभा वा जनसभा आयोजना गरिनेछ।
प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमहरू यसप्रकार छन्:
पुस १२ गते: विराटनगर
पुस १४ गते: जनकपुर
पुस १५ गते: वीरगन्ज
पुस १७ गते: भैरहवा
बस्नेतका अनुसार, यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरू पार्टीको जिल्ला वा प्रदेश समितिले निर्णय गर्न सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस