Techie IT
२०८२ मंसिर ११, बिहीबार

एमालेलाई संस्थागत रूपमा चुनावमा सहयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह


प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई सफल बनाउन संस्थागत रूपमा सहयोग गर्न एमाले नेतृत्वलाई आग्रह गरेकी छन्।

चुनाव हुन नसक्ने भन्दै आएका एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न गएपछि, प्रधानमन्त्री कार्कीले बिहीबार बालुवाटारमा एमाले नेताहरूलाई बोलाएर छलफल गरेकी थिइन्। सो क्रममा उनले एमालेलाई चुनावमा सहभागी हुने प्रक्रियामा स्पष्ट अग्रसरता देखाउन अनुरोध गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले एमालेले उठाएका सुरक्षा तथा अन्य चासोहरूलाई सम्बोधन गर्न सरकार पहलमा रहेको बताइन्। एमाले नेता महेश बर्तौलाका अनुसार बैठकमा एमाले नेताहरूले सरकार गठनको विषय नै सर्वोच्च अदालतमा संवैधानिक परीक्षणमा रहेकाले त्यसको निष्कर्ष नआइसक्दा अन्य विषय अघि बढ्न कठिनाइ हुने धारणा व्यक्त गरेको बताए ।

‘हामी सहित सर्वोच्च अदालतमा गएका छौँ। सरकारले गठनको विषय नै संवैधानिक परीक्षणमा छ,’ बर्तौलाले भने, ‘फागुन २१ गते निर्वाचन सम्भव हुन्छ भन्नेमा हामी विश्वस्त छैनौँ।’

एमाले नेताहरूले निष्पक्षता र सुरक्षित वातावरणबिना चुनाव सम्पन्न हुने अवस्था नरहेको जिकिर गर्दै मतदाताले निर्भयतापूर्वक मतदान केन्द्रमा पुग्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताए।

यस्तै, निवर्तमान आइजीपी चन्द्रकुबेर खापुङ पदकबाट हट्नेबित्तिकै स्थानहद गरिएको घटनाले प्रहरी संगठनको मनोबल कमजोर भएको भन्दै एमाले नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। भागेका कैदी, हराएका वा लुटिएका हतियार नफेला परेको विषय पनि बैठकमा उठाइएको थियो।

एमाले नेताहरूले आफ्नाे पार्टी लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र जनतामा जानेलाई नै प्राथमिकता दिने दल भएकाले उचित वातावरण बनेपछि निर्वाचनमा सहभागी हुन तयार रहने बताएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट