एमाले महाधिवेशनमा मापदण्ड नपुग्ने प्रतिनिधि हटाइदै, २६१३ मात्र सहभागी हुने
मापदण्ड नपुगेका प्रतिनिधिको कार्ड नबनाइने तयारी सहित ७० प्रतिशतभन्दा बढी प्रतिनिधिको भेरिफिकेसन सकिएको छ ।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधि विवरण अद्यावधिक गर्न निरन्तर व्यस्त छ।
विभाग प्रमुख अधिकारीका अनुसार महाधिवेशनमा २ हजार १५४ जना निर्वाचित प्रतिनिधि सहभागी हुनेछन्। केन्द्रबाट १०८ जना प्रतिनिधि मनोनीत हुने भएकाले कुल प्रतिनिधि संख्या २ हजार २६२ पुगेको छ।
यसैबीच तत्कालीन नेकपा (एस)को ‘घरफर्क अभियान’बाट आएका तीनजनाले पनि प्रतिनिधि हुने मागसहित निवेदन दिएका छन्। उनीहरूको विषयमा निर्णय गर्ने अधिकार पार्टी सचिवालयमा रहने छ।
अधिकारीले धनकुटा र ओखलढुंगामा प्रतिनिधि छनोटमा देखिएको समस्या समाधान भएको बताएका छन् । ती जिल्लामा अन्तरपार्टी निर्देशन १३ अनुसार छनोट नभएकाले केन्द्रले प्रक्रिया रद्द गरी पुनः मापदण्ड मिलाएर प्रतिनिधि चयन गर्न निर्देशन दिएको थियो। अहिले दुवै जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन्। अन्य तीन जिल्लामा परेको उजुरी निराकरण प्रक्रिया जारी छ।
कुनै निर्वाचित प्रतिनिधिमा पनि मापदण्ड नपुगेको गुनासो आएपछि संगठन विभागले छानबिन गरिरहेको अधिकारीले बताए। मापदण्ड नपुगेका प्रतिनिधिको कार्ड नबनाइने तयारी सहित ७० प्रतिशतभन्दा बढी प्रतिनिधिको भेरिफिकेसन सकिएको छ ।
महाधिवेशनको बन्द सत्र हलमा प्रतिनिधि बाहेक ३५१ जना सल्लाहकार परिषद्का सदस्य पनि प्रवेश गर्नेछन्। परिषद्की ३७६ सदस्यमध्ये २५ जना प्रतिनिधि निर्वाचित भएकाले बाँकी सदस्य सहभागीका रूपमा प्रवेश पाउने व्यवस्था मिलाइएको हो।
यसरी प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा कुल २ हजार ६१३ जना उपस्थित हुनेछन्।
केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिहरुको परिचयपत्र (कार्ड) छपाइ पनि तीव्र गतिमा जारी छ। हालसम्म करिब ७० प्रतिशत कार्ड छापिएको र मंसिर २५ गतेभित्र सबै प्रतिनिधि तथा सहभागीका कार्ड वितरणसमेत सकिने जानकारी संगठन विभागले दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस