११औं महाधिवेशनको उद्घाटनमा के भने ओलीले ? हेर्नुहोस् भाषणको पूर्णपाठ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्छ भन्ने धारणा गलत भएको स्पष्ट पार्दै स्वतन्त्र, निष्पक्ष र डर-दबाबमुक्त वातावरणमा हुने चुनावमा एमालेले बहुमत ल्याउने क्षमता राख्ने दाबी गरेका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
ओलीले अहिले तत्काल चुनाव हुँदैछ भन्ने भ्रम फैलाएर देशलाई अल्मल्याउने प्रयास भइरहेको आरोप लगाएका छन् । “अहिले चुनाव हुँदै छ ? होइन, चुनाव हुँदै छैन। चुनावको कुरा मात्रै गरेर देशलाई अल्मल्याउन खोजिएको छ,” उनले भने। प्रतिनिधिसभा पुनर्स्थापना नै एमालेको अडान रहेको पनि उनले दोहोर्याए।
अध्यक्ष ओलीले एमालेले स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा आफ्नो अधिकारको अभ्यास गर्दा निरन्तर प्रहार हुने गरेको दाबी गरे। एमाले कमजोर पारिए नेपाली राष्ट्रिय स्वाधीनता कमजोर हुने ठानेर केही स्वदेशी तथा विदेशी शक्तिहरूले योजनाबद्ध रूपमा आक्रमण गरिरहेको संकेत उनको संकेत थियो । यद्यपि उनले ती शक्तिहरू स्पष्ट रूपमा को हुन् भन्ने खुलाएनन्।
“देशहरू भूगोल वा जनसंख्यामा साना-ठूला हुन सक्छन्, तर सार्वभौम सत्ता सबैको बराबर हुन्छ,” ओलीले भने, “जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो। सबै नागरिक बराबर हुन् र अनिर्वाचित सत्ता हामीलाई स्वीकार्य छैन।”
हिंसा वा युद्धलाई समाज परिवर्तनको साधन मान्न नहुने भन्दै उनले जनताको मन जितेर शान्तिपूर्ण माध्यमबाट पनि समाज परिवर्तन सम्भव रहेको बताएका छन् । विविधता र बहुलतालाई विभाजनको आधार होइन, राष्ट्रिय सम्पदा मान्ने धारणा राख्दा, संविधान बनाउने र संशोधन गर्ने अधिकार नेपाली जनताकै हो भन्ने अडान लिँदा पनि एमाले प्रहारको निशाना बन्ने गरेको उनको भनाइ छ।
सशस्त्र द्वन्द्व, संक्रमणकाल र भूकम्पजस्ता कठिन परिस्थितिका बाबजुद पनि मुलुक अघि बढिरहेको दाबी गर्दै ओलीले कमजोरी स्वीकार्ने र सुधार गर्ने तत्परता पनि रहेको बताए। “हामी नढलेसम्म, हाम्रो शीर नझुकेसम्म नेपालको स्वाधीनता र स्वाभिमान ढल्दैन,” उनले भने।
एमालेविरुद्ध लाग्ने शक्तिहरू विभिन्न रूप र रङमा देखा पर्ने गरेको उल्लेख गर्दै ओलीले कहिले असन्तुष्टि, कहिले परिवर्तनको नारा बोकेर ‘कलर रिभोलुसन’को रूपमा प्रकट भए पनि तिनको उद्देश्य एमाले कमजोर पार्नु र विभाजन गर्नु नै भएको आरोप लगाए।
संविधान जारी गर्दा देखाइएको अडान, पारबहन सम्झौता, उत्तर-दक्षिण कनेक्टिभिटी, सीमा रक्षा र आफ्नै भूभागमाथिको दाबी जस्ता विषयमा एमाले स्पष्ट भएर उभिँदा पार्टी निरन्तर आक्रमणको निशाना बनेको ओलीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस