प्राविधिक समस्याले एमालेको नयाँ नेतृत्व चयनमा ढिलाइ, ८ बजेदेखि मतदान हुने
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ। मङ्गलबार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण मतदान एक दिनपछि सारिएको हो।
मङ्गलबार साँझ मतदान हुने अपेक्षामा मतदाताहरू लाइनमा बसेका थिए। तर राति करिब ८ बजे बुधबार मतदान हुने जानकारी गराउँदै उनीहरूलाई फर्काइएको थियो।
निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रीति फन्ट मिसिएको कारण समस्या देखिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन्। उनका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गरिएको हो।
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो।
एमालेले यसपटक इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्दैछ। प्राविधिक रूपमा मेसिन जडान गर्ने काम मङ्गलबार नै सम्पन्न भएको थियो। मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ।
रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका ती मेसिनमार्फत हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुनेछन्।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। यसैबीच, केही केन्द्रीय सदस्य तथा निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस