Techie IT
२०८२ फागुन ६, बुधबार

एमाले महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


नेकपा एमालेको जारी ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदानको चरण सुरु हुन लागेको छ। बिहान ८ बजेदेखि तय भएको मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा उपस्थित हुन थालेका छन्।

यसपटक मतदानस्थल भने परिवर्तन गरिएको छ। भृकुटीमण्डपको एक हल बुधबारका लागि अन्य कार्यक्रमले बुक भइसकेकाले एमालेले बन्द सत्र सञ्चालन भइरहेको स्थानमै मतदान गर्ने निर्णय गरेको हो। अहिले प्रतिनिधिहरू मतदानका लागि लाइनमा बस्न थालेका छन्।

एमालेको यस महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि छनोट भई आएका छन्। पार्टीले यसअघि प्रयोग गर्दै आएको रामलक्ष्मण इनोभेसन प्रालिद्वारा निर्मित विद्युतीय भोटिङ मेसिन यसपटक पनि प्रयोग गर्ने भएको छ। मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ।

प्राविधिक अनुमानअनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा ३५ देखि ४० मिनेट लाग्नेछ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने र विद्युतीय प्रणाली भएकाले मतदान समाप्त भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने जनाइएको छ।

रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार सबै उपकरणमा आवश्यक डाटा इन्ट्री सम्पन्न भई मतदानका लागि तयारी अवस्थामा राखिएको छ। उनले भने, “सबै उपकरण तयारी अवस्थामा छन्। हल परिवर्तन गर्नुपर्ने भएकाले लोकेसन मात्र परिवर्तन गरिएको हो। हामीसँग ८० वटा उपकरण छन्।”

११औँ महाधिवेशनबाट आगामी नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। दुवैले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन्।

यस महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, नौ सचिव तथा ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।

पाँच उपाध्यक्ष पदका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्।

महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिस्पर्धामा छन्।

त्यसैगरी, तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

नौ सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की उम्मेदवार रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट