नेकपाको एकता सन्देश सभा आज, राजधानीमा ५० हजार सहभागी हुने दाबी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना गरेको छ। भृकुटीमण्डपमा हुने सभामा करिब ५० हजार मानिस सहभागी हुने पार्टीको दाबी छ।
बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा ठूलो जनसहभागिता रहने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले बताएका छन् ।
उनका अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस भेला हुनेछ। ती जुलुस एकीकृत भएपछि दिउँसो सवा १२ बजेदेखि भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।
‘एकता सन्देश सभामा करिब ५० हजार मानिस सहभागी हुने हाम्रो अपेक्षा छ। जुलुसको नेतृत्व पार्टीको दोस्रो तहका नेताहरूले गर्नुहुनेछ। सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकाबाट निस्किएको जुलुस बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ,’ भट्टराईले भने।
शीर्ष नेताहरू जुलुसमा सहभागी नहुने र सिधै मञ्चमा प्रवेश गर्ने उनले बताए। सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभा भृकुटीमण्डपको तीनकुनेतर्फको सडक क्षेत्रमा आयोजना हुनेछ।
गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस