पार्टी कार्यालयहरूको अनुगमन गर्दै सरकारी राजनीतिक संवाद समिति
जेन–जी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालयहरूको अनुगमन तथा राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठन गरिएको राजनीतिक संवाद समितिको टोली आज फिल्डमा खटिँदैछ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको संवाद समिति आजदेखि स्थलगत अनुगमन र संवादमा जुट्न लागेको हो ।
समितिको टोली संवाद र अनुगमनका लागि सुरुमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम छ । त्यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायतका दलका कार्यालयमा समेत जानेछ ।
समितिको तालिकाअनुसार मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, दिउँसो १ बजे नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र दिउँसो ३ बजे नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडा पुग्ने कार्यक्रम रहेको छ ।
अनुगमन तथा संवादका क्रममा सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण निर्माणका विषयमा दलका नेताहरूसँग छलफल गर्ने र जेन–जी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालयहरूको स्थलगत निरीक्षण गर्ने बताइएको छ ।
जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल तथा निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस