Techie IT
२०८२ पौष ८, मंगलबार

बाहिर चुनाव नहुने दाबी गर्दै एमाले, भित्रीरुपमा समानुपातिक नाम संकलन भने जारी


नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले एमालेले भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम संकलन गर्न थालेको बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो संकेत दिएका हुन् ।

कुन दलले भित्रैबाट समानुपातिक उम्मेदवारको नाम संकलन गरिरहेको हो भन्ने स्पष्ट नगरे पनि नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायतका केही दलले भने सार्वजनिक रूपमै समानुपातिक उम्मेदवारको नामावली संकलन प्रक्रिया अघि बढाइसकेका छन् ।

एमाले भने फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै आएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने दाबी गर्दै आएका छन् ।

यसैबीच, शनिबार काठमाडौंमा आयोजित सभामा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एमालेले बाहिर चुनाव नहुने भनिरहे पनि भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको बताएका थिए ।

एमाले नेता बास्कोटाले आफ्नै दलले आन्तरिक रूपमा चुनावी तयारी गरिरहेको संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,
‘चुनाव हुँदैन पनि भन्छन्, दलहरू फेरि आफैं खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन् । कुन पत्याउनु हो? लाखे!’

एमालेका नेताहरू सार्वजनिक रूपमा भने फागुन २१ गते तोकिएको निर्वाचन हुनेमा विश्वास नरहेको बताउँदै आएका छन् । उनीहरू भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने अडानमा छन् ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको छलफलमा सहभागी एमाले सचिव महेश बस्नेतले पनि यही अडान दोहोर्‍याउँदै निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित हुनुपर्ने बताएका थिए । तर हाल पनि आफ्नै दलका नेतामाथि स्थानहदको प्रतिबन्ध कायम रहेकाले फागुन २१ मा निर्वाचन हुनेमा पार्टी विश्वस्त नरहेको उनको भनाइ थियो ।

एमालेको संसदीय दल र केन्द्रीय कमिटीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालत जाने निर्णय गरिसकेको छ । सोही निर्णयअनुसार निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका छन् । एमालेले ती रिटमाथि छिटो फैसला हुनुपर्ने माग गर्दै आएको छ ।

यद्यपि पार्टीभित्र समानुपातिक उम्मेदवार सिफारिसका विषयमा आन्तरिक छलफल तीव्र हुँदै गएको छ । निर्वाचन आयोगले आगामी पुस १४ गतेभित्र समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन समयसीमा दिएको छ । यसका लागि तल्ला कमिटीहरूलाई नाम सिफारिस गर्न मौखिक निर्देशन दिइसकिएको एमालेका एक पदाधिकारीले बताए ।

‘समानुपातिक उम्मेदवार सिफारिस गरेर पठाउन तल्ला कमिटीलाई भनिसकिएको जानकारी पाएको छु,’ ती पदाधिकारीले भने, ‘लिखित निर्देशन केही दिनमा जान्छ ।’

अदालतबाट तत्काल प्रतिनिधिसभा पुनर्स्थापना नहुने अवस्था आएमा पार्टी चुनावबाट भाग्न नसक्ने भन्दै तयारी अवस्थामा रहनुपर्ने धारणा पार्टीभित्र रहेको एमालेका केन्द्रिय स्तरका नेताले बताएका छन् ।

एमालेले मंसिर २७ देखि पुस २ सम्म ११औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । त्यसले पार्टी संगठनलाई चुनाव सामना गर्न सक्ने अवस्थामा राखेको अर्को पदाधिकारीले बताए ।

पार्टीभित्रको रणनीति अनुसार बाहिर प्रतिनिधिसभा पुनर्स्थापनाको माग जारी राख्ने र भित्र भने सम्भावित निर्वाचनका लागि तयारी गर्दै जाने नीति लिइएको बताइन्छ । अध्यक्ष केपी शर्मा ओलीले पनि ‘चुनाव नहुन सक्छ, तर भयो भने जाने गरी तयारी राख्नुपर्छ’ भन्ने निर्देशन दिएको एक नेताले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट