रास्वपासँग चुनावी तालमेलको प्रस्ताव गरिएको छैन : प्रचण्ड सचिवालय
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग कुनै पनि प्रकारको चुनावी तालमेलको प्रस्ताव नगरिएको स्पष्ट पारेको छ।
बिहीबार काठमाडौँबाट प्रकाशित केही पत्रपत्रिका तथा सञ्चार माध्यमहरूले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भनी प्रकाशित समाचार सत्य नभएको प्रचण्डको सचिवालयले जनाएको छ।
‘केही सञ्चार माध्यममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव गरेको भन्ने झुटा समाचार प्रकाशित भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘उक्त समाचार पूर्णतः असत्य हो।’
नेकपाले चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुनै प्रकारको संवाद नगरेको स्पष्ट पारेको छ।
असत्य तथा सम्बन्धित पक्षबाट पुष्टि नलिई एकपक्षीय रूपमा प्रवाह गरिएका भ्रामक समाचारको भ्रममा नपर्न प्रचण्डको सचिवालयले सबैमा आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस