Techie IT
२०८२ पौष १२, शनिबार

कांग्रेसद्वारा समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु, विद्रोहीहरुको कारबाही फुकुवा


नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार चयनको मापदण्ड तय गर्दै नाम छनोट प्रक्रिया अघि बढाएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन तयारी र आन्तरिक संगठन सुदृढीकरणका सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक वा समर्थक बसेका तथा असहयोग गरेका कारण अनुशासनको कारबाहीमा परेका व्यक्तिहरूको बाँकी सजाय अवधि माफी–मिनाहा गर्ने निर्णय गरेको छ। कारबाही माफी पाएकाहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिँदै नवीकरण गर्ने बाटो समेत बैठकले खोलेको छ।

त्यसैगरी, कांग्रेसले विगतमा पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलमा क्रियाशील रहेका पूर्वसदस्यहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गरेको छ। यसरी फर्किनेहरूलाई क्रियाशील सदस्यतासहित उपयुक्त जिम्मेवारी प्रदान गरिने पार्टीको नीति छ। बैठकले विभिन्न पेसा, व्यवसाय र बौद्धिक क्षेत्रमा रहेका लोकतन्त्रवादीहरूलाई पार्टीमा सक्रिय भूमिका निभाउन आग्रह गर्दै मुलुकको हितका लागि विशेष संवाद र सहकार्य अघि बढाउने निर्णय समेत गरेको छ। कार्यसम्पादन समितिको अर्को बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट