Techie IT
२०८२ पौष १३, आइतबार

सचिवालय बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनामा ओलीको जोड, निर्वाचनमा जान पनि तयार


नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि आइतबार पार्टीको पहिलो सचिवालय बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा पुनः जोड दिएका छन्।

बैठकपछि अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमाले उपमहासचिव लेखराज भट्टले ‘जेनजी आन्दोलनका नाममा प्रतिक्रान्ति भएको’ उल्लेख गर्दै संसद् पुनर्स्थापना आवश्यक रहेकोमा अध्यक्षले स्पष्ट धारणा राखेको जानकारी दिए।

त्यसैगरी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले सहभागी हुन तयार रहेको भए पनि शान्ति–सुरक्षा व्यवस्था मजबुत हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिएको उपमहासचिव भट्टले बताए। उनका अनुसार एमाले निर्वाचनबाट नभाग्ने र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको सन्देश अध्यक्षले बैठकमा दिएका थिए।

अध्यक्ष ओलीले टोलस्तरसम्म सुरक्षा समिति गठन गर्न सकेमात्रै प्रभावकारी शान्ति–सुरक्षा सुनिश्चित हुने धारणा राख्दै निर्वाचनका क्रममा मतदान केन्द्रको सुरक्षाका लागि राष्ट्रिय युवा फोर्सको निगरानी आवश्यक रहेको बताएका छन् ।

बैठकले समानुपातिकतर्फको बन्दसूची पारित गर्दै सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय पनि गरेको छ। विभिन्न जिल्ला तथा प्रदेशबाट प्राप्त सिफारिसका आधारमा बन्दसूची तयार पारिएको उपमहासचिव भट्टले जानकारी दिए।

यसैबीच, उपमहासचिव भट्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच विचार र सिद्धान्त स्पष्ट नभएको टिप्पणी गर्दै लेनदेनमा आधारित भनिएको सहमति कति समय टिक्छ भन्ने विषय हेर्न बाँकी रहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट