Techie IT
२०८२ पौष १३, आइतबार

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने नेतृ भुसालको घोषणा, युवालाई अवसर दिनुपर्नेमा जोड


नेपाली कम्युनिस्ट पार्टीकी नेता पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कुनै पनि पदमा उम्मेदवार नबन्ने स्पष्ट घोषणा गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भुसालले ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आफूलाई प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव आएको भए पनि ती सबै प्रस्ताव अस्वीकार गरेको जानकारी दिएकी छन्। उनले प्रस्ताव गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेकी छन्।

भुसालले आफू तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेको एक्ली महिला उम्मेदवार रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा विजयी हुनु अत्यन्त चुनौतीपूर्ण हुने बताएकी छन्। आगामी निर्वाचनमा उठ्ने वा नउठ्नेबारे देशभरिका नेता–कार्यकर्ताबाट जिज्ञासा आएको भन्दै उनले यसपटक दुवै निर्वाचन प्रक्रियामा उम्मेदवार नबन्ने निर्णय लिएको स्पष्ट पारेकी छन्।

उनका अनुसार आफूले दुई पटक प्रत्यक्ष निर्वाचन जित्नुका साथै पटक–पटक मन्त्री भएर काम गर्ने अवसरसमेत पाइसकेकोले अब प्राप्त राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेकी हुन्।

भुसालले यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियाबाट अघि ल्याइनुपर्ने धारणा राखेकी छन्।

अपवादबाहेक यसअघि अवसर पाइसकेका नेताहरूले यसपटक प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुने उनको धारणा छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट