नवौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन तथा वरिष्ठ लोकगायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गर्दै नवौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड-२०८२ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।
राप्ती समाज काठमाडौँका अध्यक्ष गोविन्द मधुर आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र विशिष्ट अतिथिका रूपमा वरिष्ठ कलाकार नीर शाहको उपस्थिति रहेको थियो। काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न कार्यक्रममा संगीत, कला र संस्कृतिको विविध आयामलाई समेट्दै ४२ विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा राप्ती सांस्कृतिक सम्मानबाट यागेश्वर बस्नेत, राप्ती सांस्कृतिक प्रतिभा पुरस्कारबाट नायक आकाश श्रेष्ठ, राप्ती डायस्पोरिक सांस्कृतिक सम्मानबाट गायक बसन्त लम्साल, राप्ती पत्रकारिता पुरस्कारबाट भोजराज थापा, राप्ती बाल प्रतिभा पुरस्कारबाट बाल कलाकार स्वयं केसी तथा उद्यमशीलता सम्मान-२०८२बाट दीपक कार्की सम्मानित भए।
यसैगरी नारायण पाण्डेय लोकदोहोरी प्रतिभा पुरस्कार शान्ता ओली र प्रेमप्रसाद शर्मालाई प्रदान गरिएको थियो । समाजको सर्वाङ्गीण विकासमा दीर्घकालीन योगदान पुर्याएको भन्दै राप्ती समाज काठमाडौँका पूर्व अध्यक्ष, समाजसेवी तथा अधिवक्ता शशि शर्मा मजगैयाँलाई राप्ती सामाजिक सम्मान-२०८२ अर्पण गरिएको थियो।
अवार्ड समारोहमा प्रदान गरिएका प्रमुख विधागत अवार्डहरूमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत हेमराज लामिछाने ( हिमाल पहाड तराई ), सर्वोत्कृष्ट चलचित्र गीतकार सुरेन्द्र राणा, सर्वोत्कृष्ट चलचित्र संगीतकार थानेश्वर गौतम, सर्वोत्कृष्ट चलचित्र गायिका शान्ति श्री परियार, सर्वोत्कृष्ट नवगायिका रेखा पोख्रेल र सर्वोत्कृष्ट नवगायक सुरज भुसाल रहेका छन्।
त्यसैगरी सुगम संगीत, लोकदोहोरी, लोकपप, देउडा, डायस्पोरा, भिडियो निर्देशन, मोडेल, छायाङ्कन, सम्पादन, ध्वनि मिश्रणलगायत विविध विधामा कलाकारहरू सम्मानित भएका थिए। पब्लिक च्वाइस अवार्ड अंश बर्माले प्राप्त गर्दा इनकरेजमेन्ट अवार्ड सन्जु पाठकलाई प्रदान गरिएको छ ।
कार्यक्रममा गायक तथा संगीतकार अर्जुन मिलन (संविधानविद् डा. भिमार्जुन आचार्य), वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ संगीतकार दीपक जङ्गम, वरिष्ठ गायिका चन्द्रकला शाह, नायक पल शाह, गायक प्रमोद खरेललगायत सयौँ प्रतिष्ठित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हजारभन्दा बढी संगीत अनुरागीहरूको सहभागिता तथा दर्जनौँ संघ-संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा आयोजक राप्ती समाज काठमाडौँले आगामी वर्ष अवार्ड समारोहलाई अझ व्यापक र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस