समानुपातिकबाट पछि हटे आसिफ शाह, काठमाडौं–५ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा
नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको जानकारी दिँदै शाहले जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन्।
‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ शाहले लेखेका छन्, ‘साथै जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु।’
उनले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने स्पष्ट पारेका छन्। ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ । उठ्नुपर्छ, उठ्ने नै हो,’ शाहले भने, ‘हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं। देशभन्दा ठूलो केही हुँदैन।’
राजनीतिमा आउँदा प्रत्यक्ष निर्वाचनमार्फत् जनतासँगै उभिएर उम्मेदवारी दिने आफ्नो चाहना पहिलेदेखि नै रहेको उल्लेख गर्दै शाहले पार्टीले देशव्यापी चुनावी अभियानको आवश्यकताका कारण समानुपातिक प्रणालीमार्फत अघि बढ्न आग्रह गरेपछि उम्मेदवारी दर्ता गरेको प्रष्टीकरण दिएका छन्।
तर त्यसपछि आएका समाचार, जनताबाट व्यक्त प्रतिक्रियाहरू र पार्टीभित्रका साथीहरूको भावनाले आफूलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनाएको उनले बताएका छन्। ‘सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो,’ शाहले भने, ‘देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैं गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।’



तपाईको प्रतिक्रिया दिनुहोस