कांग्रेस–एमालेमा भूकम्प: पूर्वमन्त्री देखि प्रभावशाली नेतासम्म एकैसाथ रास्वपा प्रवेश
नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र नेकपा एमाले गण्डकीका नेता पुष्प अधिकारी एकैसाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्कालाई कांग्रेसले ‘अन्तरघात’ गरेको आरोपमा निष्कासन गरेपछि उनले रास्वपामा प्रवेश गरेका हुन्।
उनीहरूलाई रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटालगायतले पार्टीमा स्वागत गरेका छन्।
क्षेत्री आन्दोलनको जगमा गठन भएको अखण्ड नेपाल पार्टीबाट समानुपातिक सांसद बनेर संघीय संसद प्रवेश गरेका खड्का २०७४ को निर्वाचनअघि कांग्रेसमा विलय भएका थिए। त्यसपछि उनी गण्डकी प्रदेशबाट समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेका थिए।
कांग्रेसका आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप लगाउँदै पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। पछि कारबाही फुकुवा भए पनि आफूले निर्णय गरिसकेको भन्दै खड्काले कांग्रेस नफर्किने स्पष्ट पारेका छन्।
रास्वपामा प्रवेश गरेकी कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाकै भाइबुहारी हुन्। विन्दुकुमारका भाइ तथा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापाकी पत्नीसमेत रहेकी मिलन थापाको रास्वपा प्रवेशलाई कास्कीमा विशेष चासोका साथ हेरिएको छ।
भदौ २४ गते ‘जेनजी आन्दोलन’ को दोस्रो दिन मन्त्री थापाको निवास, व्यापारिक प्रतिष्ठान, बगैंचा रिसोर्टसहित ध्रुव थापाको घर तथा व्यवसायिक संरचनामा तोडफोड र आगजनी भएको थियो। मन्त्री परिवार भएकै कारण आफूहरूको घर र व्यवसाय लक्षित आक्रमण भएको दाबी गर्दै आएका उनीहरूका अनुसार उक्त घटनामा घरमा काम गर्ने एक महिलाको आगलागीमा जलेर मृत्यु समेत भएको थियो।
रास्वपामा प्रवेश गरेका पुष्प अधिकारी रुपाकोट रिसोर्टका सञ्चालक हुन्। उनी अघिल्लो निर्वाचनमा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदका आकांक्षी थिए। अधिकारी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत रहिसकेका छन् र एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस