Techie IT
२०८२ फागुन १२, मंगलबार

चितवन–१ मा एमालेले ६ जनाको नाम सिफारिस गर्दा पनि सुरेन्द्र पाण्डेको नाम नपर्नुको कारण के हो?


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले चितवन निर्वाचन क्षेत्र नं. १ बाट ६ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गर्दापनि सो सिफारिस सूचीमा एमालेका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको नाम समावेश गरिएको छैन।

२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका पाण्डेले आगामी निर्वाचनमा उम्मेदवार बन्ने इच्छाबारे औपचारिक जानकारी नदिएको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले बताएका छन्।

‘पार्टीका नेताहरूसँगको छलफलमा नेता पाण्डेले जे राम्रो हुन्छ त्यही गर्नुस्, सबैभन्दा धेरै भोट ल्याउन सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुस् भन्नुभयो,’ पाठकले भने, ‘तर उहाँले आफ्नो नाम सिफारिस गर्नुस् भनेर न त आग्रह गर्नुभयो, न त उम्मेदवार हुने इच्छा नै व्यक्त गर्नुभयो।’

पाठकका अनुसार पाण्डेले आफू वा अरू कसैमार्फत उम्मेदवार बन्ने चाहना व्यक्त गरेको भए नाम सिफारिस गर्न कुनै समस्या हुने थिएन । यस विषयमा प्रतिक्रिया दिँदै पाण्डेले आफू नेपालगञ्जमा रहेकाले बैठकमा उपस्थित हुन नसकेको बताएका छन् ।

‘पार्टीका केही नेताहरूले फोन गर्नुभएको थियो, मैले सबैभन्दा उपयुक्त र लोकप्रिय व्यक्तिलाई सिफारिस गर्नुस् भनेको थिएँ,’ उनले भने, ‘मैले मेरो नाम सिफारिस गर्नुस् भनेर जिल्ला वा क्षेत्रीय कमिटीलाई भन्नुपर्छ जस्तो मलाई लाग्दैन।’

पाण्डेले कुनै पनि नेतालाई ‘मेरो नाम सिफारिस गर्नुस्’ भनेर आग्रह नगरेको स्पष्ट पारे।

एमाले क्षेत्रीय कमिटीले गरेको सिफारिसमा जिल्ला अध्यक्ष कमलराज पाठक, एमाले बागमती प्रदेश उपाध्यक्ष तथा पूर्वप्रदेश मन्त्री दावा दोर्जे लामा, कृष्णलाल चौधरी, किशोरचन्द्र खनाल, भरत भण्डारी र लक्ष्मी कोइराला पोखरेलको नाम समावेश छ।

चितवन–१ पाण्डेले लामो समयदेखि निर्वाचन लड्दै आएको क्षेत्र हो। उनी २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

एमालेले चितवन निर्वाचन क्षेत्र नं. २ र ३ का लागि पुस २२ गते उम्मेदवार सिफारिस गर्ने जनाएको छ।

यसैबीच, हालै सम्पन्न एमाले महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट महासचिव पदमा उम्मेदवारी दिएका पाण्डे पराजित भएपछि संस्थापन पक्षले उनलाई क्रमशः किनारामा पार्न थालेको अर्थमा पनि यस घटनालाई हेरिएको छ। अध्यक्ष केपी शर्मा ओली समूहले प्रतिद्वन्द्वी पोखरेल पक्षका नेताहरूलाई पार्टीभित्रैबाट कमजोर बनाउँदै आएको आरोप नेताहरूले लगाउँदै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट