Techie IT
२०८२ पौष २६, शनिबार

आशिका तामाङ

स्वतन्त्र रूपमा चुनावी मैदानमा आशिका तामाङ, के छन् उनका चुनावी एजेन्डा?


चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ मध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्ने बताएकी छन्।

विभिन्न सरोकारवालासँगको छलफल र सामाजिक सञ्जालमार्फत गरिएको मत सर्वेक्षणपछि आफू चुनावी राजनीतिमा होमिन तयार भएको आशिकाले जानकारी दिएकी छन्।

फेसबुकमा उनले लेखेकी छन्, “यी छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक र नकारात्मक दृष्टिकोणहरू पनि आए। म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपले सम्मान गर्छु। यिनै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेकी छु।”

आशिकाले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट पारेकी छन्। उनले आगामी संसदीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

उनले विशेषगरी जेनजी पुस्ताले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व गर्नुपर्ने आवश्यकताका आधारमा यो निर्णय लिएको बताएकी छन्।

यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानप्रतिको प्रतिबद्धताबाट प्रेरित रहेको उनको भनाइ छ।

युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि म दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्ने आशिकाले बताएकी छन् ।  उनले भनिन् “हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ’ भन्ने तपाईंहरूको विश्वासलाई म कहिल्यै टुट्न दिने छैन।”

आशिकाले आफ्नो चुनावी यात्राका लागि तीन अठोट सार्वजनिक गरेकी छन्। ती अठोट यस प्रकार छन्

  • युवा पुस्ताको भावनाको कदर
  • सडकदेखि सदनसम्म जनसरोकारका मुद्दाको सशक्त उठान
  • भ्रष्टाचारविरुद्धको निरन्तर संघर्ष


तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट