नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भोलि १० बजेदेखि शुरु हुने
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र भोलि सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ।
यसअघि बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका रहे पनि महाधिवेशन प्रतिनिधिको नाम दर्ता प्रक्रिया अझै बाँकी रहनुका साथै खाजाको समयसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले बन्दसत्र दुई घन्टा ढिला गरी सुरु गर्न लागिएको हो।
व्यवस्थापन उपसमितिअन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि प्रतिनिधिहरूको नाम दर्ता र खाजाको व्यवस्था हुनेछ भने बिहान १० बजेदेखि औपचारिक रूपमा बन्दसत्र सञ्चालन हुनेछ।
हालसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको जनाइएको छ। प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान सवा ८ बजेदेखि सुरु भएको थियो। फाइलहरू रूजु गर्नुपर्ने भएकाले यकिन विवरण भने सोमबार मात्रै सार्वजनिक हुने बताइएको छ।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। दर्ता प्रक्रियालाई सहज बनाउन सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार उद्घाटन सत्र सकिएपछि दर्ता फाइल बन्द गरी रात्रि भोजनको कार्यक्रम सञ्चालन भएकाले आइतबारका लागि दर्ता स्थगित गरिएको थियो। सोमबार बिहान ८ बजेदेखि दर्ता प्रक्रियाले निरन्तरता पाउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस