Techie IT
२०८२ पौष २८, सोमबार

कांग्रेस विशेष महाधिवेशनमा पुस्तान्तरणको प्रस्ताव: केन्द्रीय समितिमा ४० युवा अनिवार्य गरिने


नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका शीर्ष नेताहरूले आ–आफ्ना धारणा राखेका छन्।

विशेष महाधिवेशन सचिवालय स्रोतका अनुसार भोलि बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

स्रोतका अनुसार शर्माले पेश गर्ने प्रतिवेदनमा पार्टी संरचनामा पुस्तान्तरणलाई संस्थागत गर्ने प्रस्ताव समेटिएको छ। प्रतिवेदनको मस्यौदाअनुसार केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० जना र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यसैगरी प्रदेश समितिमा ३० वर्ष मुनिका १० जना र ३० देखि ४० वर्ष समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव राखिएको छ। जिल्ला समितिमा दुवै उमेर समूहबाट ६/६ जना र वडा समितिमा ४/४ जनाको प्रतिनिधित्व रहने व्यवस्था प्रतिवेदनमा समावेश गरिएको छ।

महामन्त्री शर्माले यसअघि प्रस्ताव गरिसकेको पदाधिकारी र जनप्रतिनिधिका लागि कार्यकाल सीमा सम्बन्धी प्रस्ताव पनि दोहोर्‍याएका छन्। जसअनुसार एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद बन्न पाउने व्यवस्था प्रतिवेदनमार्फत विशेष महाधिवेशनमा प्रस्तुत गरिनेछ।

प्रतिवेदनमा विभिन्न पेशा, व्यवसाय र विज्ञता भएका व्यक्तिहरूलाई पार्टी संरचनामा समेट्न ‘ल्याट्रल इन्ट्री’ को अवधारणासमेत समावेश गरिएको छ।

यसैगरी विदेशस्थित जनसम्पर्क समितिहरूलाई समेटेर पार्टीको अन्तर्राष्ट्रिय संरचना निर्माण गर्ने प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ। त्यसअन्तर्गत प्रत्येक देशका जनसम्पर्क समितिका वर्तमान तथा पूर्व अध्यक्षहरू अन्तर्राष्ट्रिय परिषद्का सदस्य रहनेछन्।

प्रतिवेदनमा २७ सदस्यीय अन्तर्राष्ट्रिय जनसम्पर्क समिति गठन गर्ने प्रस्तावसमेत समावेश रहेको स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट