प्रतिनिधि सभा निर्वाचन फागुन २१ मै हुने सरकारको घोषणा
अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने स्पष्ट पारेको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन मिति कुनै पनि हालतमा परिवर्तन नहुने दाबी गरे।
सरकारले निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खरेलले निर्धारित समयमै मतदान सम्पन्न गराउन सरकार गम्भीरताका साथ जुटिरहेको बताएका छन् । “फागुन २१ का लागि निर्वाचनको मिति तोकिसकिएको छ, अब त्यो भन्दा यताउति हुँदैन,” उनले भने, “निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको मात्र नभई सबै सरोकारवाला निकायको पनि हो।”
निर्वाचनको तयारीका सन्दर्भमा सरकारले निर्वाचन आयोगको निर्णय र परामर्शलाई आधार मानेर अघि बढिरहेको जानकारी दिँदै मन्त्री खरेलले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका हुन्। साथै, पछिल्लो समय निर्वाचन सर्ने सम्बन्धी फैलाइएका हल्लाहरूको खण्डन गर्दै उनले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा केन्द्रित रहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस