कहाँ बाट चुनाव लड्दै छन् महासचिव शङ्कर पोखरेल ?
नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवारीको मनोनयन पत्र प्रदान गरिसकेको महासचिवको सचिवालयले जनाएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले दाङ–२ को उम्मेदवार चयन गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको थियो। सोही निर्णयअनुसार महासचिव पोखरेललाई उम्मेदवार बनाउने टुङ्गो लागेसँगै लामो समयदेखि क्षेत्रभर देखिएको अन्योल अन्त्य भएको छ।
यसअघि पोखरेल उम्मेदवार बन्दै आएको क्षेत्रमा उम्मेदवार नटुङ्गिँदा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा को उम्मेदवार बन्छ भन्ने विषयमा व्यापक चासो व्यक्त हुँदै आएको थियो। अब उम्मेदवारी टुङ्गिएसँगै निर्वाचन तयारीले तीव्रता पाउने अपेक्षा गरिएको छ।
महासचिव पोखरेल २०५१ सालको मध्यावधि निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए। त्यसयता उनी निरन्तर यही क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन्। २०७४ सालको निर्वाचनमा उनी यसै क्षेत्रअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भई लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।
जिल्लाको विकास र समृद्धिका ‘रोल मोडेल’ का रूपमा चिनिँदै आएका पोखरेलले पूर्वाधार विकास, सेवा प्रवाह र विभिन्न तहबीच समन्वयमा सक्रिय भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ। पोखरेल उम्मेदवार बनेको खबरसँगै दाङका नागरिकहरू उत्साहित देखिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस