न्युयोर्कमा प्रधानमन्त्री ओली र मोदी बीच साइड लाइन भेटवार्ता हुने
अन्ततः संयुक्त राष्ट्र संघको ७९ औं महासभाको दौरान नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुने तय भएको छ। लामो समयदेखि नेपालले प्रस्ताव गरे पनि भारतको तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको थिएन। तर, प्रधानमन्त्री ओली न्युयोर्क पुग्न केही घण्टाअघि भारतीय पक्षले भेटवार्ताको सन्देश दिएको हो।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार प्रधानमन्त्री ओली र मोदीबीचको भेटवार्ता आइतबार स्थानीय समयअनुसार साइडलाइनमा हुनेछ। यो भेट ओली तेस्रो पटक प्रधानमन्त्री बनेपछि मोदीसँग हुने पहिलो भेट हो।
यस भेटवार्ताको तयारीमा नेपालले विभिन्न तहमा पहल गरेको थियो। परराष्ट्रमन्त्री आरजु राणा देउवा, न्युयोर्कस्थित नेपाली प्रतिनिधि लोकबहादुर थापा, र नयाँ दिल्लीस्थित नेपाली दूतावासले भेटवार्ता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रधानमन्त्री ओलीले मन्त्री राणालाई निर्देशन दिँदै यस भेटको तयारीका लागि काम अघि बढाउन भनेका थिए।
संयुक्त राष्ट्र संघको महासभा असोज ८ देखि १२ सम्म चल्नेछ, जसमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। उनी महासभाको उच्चस्तरीय छलफलमा सहभागी हुनेछन्, जबकि भारतीय प्रधानमन्त्री मोदी यसपटक ‘समिट अफ द फ्युचर’ कार्यक्रमका लागि न्युयोर्क आउनेछन्।
यसअघि ओली र मोदीबीच बिमस्टेकको छैटौं शिखर सम्मेलनका क्रममा थाइल्यान्डमा भेटवार्ता हुने तय गरिएको थियो, तर थाइल्यान्डको राजनीतिक अस्थिरताका कारण सम्मेलन स्थगित भएपछि भेटवार्ता रोकिएको थियो। अब यो भेटवार्ता न्युयोर्कमा सम्भव भएको हो।
प्रधानमन्त्री ओलीले यसपटक प्रधानमन्त्री बनेपछि भारतबाट औपचारिक भ्रमणको निमन्त्रणा प्राप्त गरेका छैनन्, तर उनले भारत भ्रमणको निमन्त्रणा भने परराष्ट्रमन्त्री राणामार्फत मोदीलाई पठाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस