Techie IT
२०८३ भाद्र ३, बुधबार

इन्डोनेसियामा शक्तिशाली भूकम्पको चार दिनपछि व्यापारिक गतिविधि सुरु

भूकम्पमा परी ७१ जनाको मृत्यु र करिब १ हजार २ सय जना घाइते


Photo: AP

शक्तिशाली भूकम्पमा परी ७१ जनाको मृत्यु र करिब १ हजार २ सय जना घाइते भएको चार दिनपछि पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा जनजीवन सामान्य बन्दै गएको छ। यससँगै त्यहाँका किराना पसल, पेट्रोल पम्प तथा अन्य व्यापारिक प्रतिष्ठानहरू पुनः सञ्चालनमा आएका छन्।

गत शनिबार बिहान गएको भूकम्पबाट हजारौँ घर तथा सार्वजनिक संरचनामा क्षति पुगेपछि करिब ६० हजार मानिस अहिले पनि पाल, उद्धार केन्द्र र अस्थायी आश्रयस्थलमा बस्न बाध्य रहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पका कारण ११ हजार ९२५ घर, १८२ स्वास्थ्य संस्था, ६५३ विद्यालय, १८४ सरकारी कार्यालय र १७३ धार्मिक स्थलमा क्षति पुगेको छ।

प्रभावित क्षेत्रमा हालसम्म खाद्यान्न, पारिवारिक पाल र आश्रय सामग्रीसहित ३९८ टन राहत सामग्री पुर्‍याइएको एजेन्सीले जनाएको छ। तर, पहाडी भूभाग तथा क्षतिग्रस्त र साँघुरा सडकका कारण राहत वितरण कार्यमा अझै पनि कठिनाइ भइरहेको अधिकारीहरूको भनाइ छ। दुर्गम क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले सैन्य विमान, पानीजहाज र थप जनशक्ति परिचालन गरेको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता बर्टन पानजाइतानले जानकारी दिएका छन्।

यसैबीच, पूर्वी नुसा तेङ्गरा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका लेनाले भूकम्प प्रभावित सातवटै क्षेत्रका स्थानीय सरकारहरूले विपद्पछिको पुनर्लाभ तथा प्रशासनिक कामलाई गति दिन पुनः कामकाज सुरु गरेको बताएका छन्। मौमेरेमा बजार तथा पेट्रोल पम्पहरू खुल्दा किनमेलका लागि ठूलो भीड लागेको छ भने अत्यधिक प्रभावित मङ्गाराई रिजेन्सीको रियोमा पनि स्थानीयहरू आवश्यक सामग्री खरिदका लागि लामबद्ध भएका छन्।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार १० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि पछि फिर्ता लिइएको थियो। अधिकारीहरूले बुधबारसम्म तीन हजारभन्दा बढी परकम्प रेकर्ड गरिएको जनाएका छन्। परकम्पको निरन्तरको त्रासका कारण टापुभरिका हजारौँ मानिस अझै पनि राति घर बाहिरै सुतिरहेका छन् भने उद्धारकर्मीहरू भग्नावशेष हटाउने र बेपत्ताहरूको खोजी गर्ने कार्यमा जुटेका छन्।

१७ हजारभन्दा बढी टापुहरूको देश इन्डोनेसिया प्रशान्त महासागरीय ‘आगोको घेरा’ (Ring of Fire) मा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखी विस्फोटको जोखिम सधैँ उच्च रहन्छ। स्मरण रहोस्, यसअघि सन् १९९२ मा फ्लोरेस टापुमै गएको भूकम्प र त्यसपछिको सुनामीमा परी करिब २ हजार ५ सय मानिसको ज्यान गएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट