भारत–पाकिस्तान तनावको स्थिति गम्भीर रूपमा हेरिरहेका छौं - अमेरिकी विदेशमन्त्री रुबियो

भारत र पाकिस्तानबीच जारी सैन्य तनावप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया जनाएका छन्।
भारतको मिसाइल आक्रमणपछि सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा रुबियोले लेखेका छन्, “म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु ।” उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई उद्धृत गर्दै भनेका छन्, “यो तनाव चाँडै अन्त्य होस् भन्ने चाहना छ र भारत–पाकिस्तानबीच शान्तिपूर्ण संवादका लागि प्रयास जारी रहनेछ ।”
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि दुवै देशलाई संयम अपनाउन आह्वान गर्दै सैन्य द्वन्द्व टार्न वार्ताको विकल्प खोज्न सुझाव दिएका थिए ।
बीबीसीका अनुसार भारतले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा २ बालबालिकासहित ७ जनाको ज्यान गएको छ । घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणप्रति कडा प्रतिक्रिया दिँदै “निर्णायक जवाफ दिन पूर्ण अधिकार पाकिस्तानसँग छ” बताएका छन्।
स्थिति जटिल बन्दै गएका बेला अन्तर्राष्ट्रिय समुदायले वार्तामार्फत् समाधान खोज्न आह्वान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस