बूढीगण्डकीमा सुक्खा पहिरोपछि भीषण बाढी: सल्लेरी बजार बगायो
२४ घण्टामा वर्षा नभए पनि गोरखाको बूढीगण्डकी नदीमा आज एकाबिहानै भीषण बाढी आएको छ। गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि अकस्मात् ठूलो बाढी आएको आशंका गरिएको छ।
बूढीगण्डकीमा आएको सो विनाशकारी बाढीले धार्चे र चुमनुब्री क्षेत्रको तटीय बस्तीमा ठूलो क्षति पुर्याएको छ। स्थानीय विशाल घलेले दिएको जानकारीअनुसार बाढीले गोरखाको सल्लेरी बजार पूरै बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आज बिहान ३ बजेतिरबाटै नदीमा अकस्मात् बाढी आउन थालेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले एकाबिहानै ठूलो आवाजसहित नदीमा पानीको बहाव अत्यधिक बढेको जानकारी दिए। बाढी तल्लो तटीय क्षेत्रतर्फ बहिरहेकाले जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
२४ घण्टामा वर्षा छैन, पहिरोले नदी थुनिएको आशंका
अकस्मात् आएको बाढीबारे जानकारी दिँदै मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले सो क्षेत्रमा पछिल्लो २४ घण्टामा खासै पानी नपरेको बताइन्। “हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्मको रेकर्ड हेर्दा त्यहाँ फाटफुट (०.२ मिलिमिटर) मात्र वर्षा देखिएको छ” उनले भनिन्, “आज पनि सो क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन, छोटो समयका लागि हल्कादेखि मध्यम वर्षा मात्र हुन सक्छ।” वर्षा नभएका कारण सुक्खा पहिरोले नदीको बहाव थुनिएर पछि फुटेकाले बाढी आएको अनुमान गरिएको छ।
तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल
बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले बूढीगण्डकीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।
अहिले प्रहरी तथा स्थानीय जनप्रतिनिधि उद्धार तथा क्षतिको थप विवरण सङ्कलनमा खटिएका छन्। बाढीका कारण पुगेको पूर्ण क्षतिको विवरण आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस