पनौतीमा ४१ मिलिमिटर वर्षा, कुलोले बगाएर महिला बेपत्ता, बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको पनौतीमा सोमबार अपरान्ह भएको वर्षाले जनजीवन प्रभावित भएको छ । पनौतीस्थित रोशीखोला केन्द्रमा पछिल्लो १२ घण्टाको अवधिमा ४१ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार १० देखि ५० मिलिमिटर वर्षा मध्यम खालको मानिन्छ । भारतको बिहार आसपासबाट सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती प्रदेशमा प्रवेश गरिसकेको छ । यसले गर्दा प्रदेशका मकवानपुर, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक लगायतका जिल्लामा अझै थप वर्षाको सम्भावना रहेको विभागले चेतावनी दिएको छ ।
हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपासको क्षेत्रमा मेघगर्जनसहितको वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
महिला बेपत्ता र सडक अबरुद्ध
सोमबारको वर्षाका कारण पनौतीमा एक जना महिला कुलोले बगाएर बेपत्ता भएकी छन् । काभ्रे प्रहरीले घटनाको पुष्टि गर्दै बेपत्ता महिलाको खोजी कार्य जारी रहेको जानकारी दिएको छ । पनौतीबाट बग्ने सो कुलोको पानी रोशीखोलामा मिसिन्छ ।
यसैबीच, वर्षाका कारण बीपी राजमार्गका डाइभर्सनहरूमा क्षति पुग्दा यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–११ र १२ को सीमामा रहेको माम्ती खोलानजिक डाइभर्सन बगाएको छ । फलस्वरूप पूर्व–पश्चिम चल्ने सवारी साधन रोकिएको उनले जानकारी दिए ।
“पूर्वबाट आइरहेका सवारीहरूलाई खुर्कोट र नेपालथोकमा रोकिएको छ भने काठमाडौंबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकेको छौं,” कार्कीले बताए ।
कालढुंगास्थित रोशी गाउँपालिका–११ को भ्याकुरे खोलामा एउटा ईभी भ्यान फसेको जानकारी दिँदै प्रहरीले पानीको तीव्र बहावका कारण गाडी निकाल्न समस्या भइरहेको जनाएको छ । यस्तै, नमोबुद्ध नगरपालिका–६ र रोशी–७ जोड्ने अस्थायी सडक पनि हिमपाइपसहितको संरचना बगाएको छ । गत असोजमा सोही स्थानमा पक्की पुल समेत बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमल शाहका अनुसार अवरुद्ध सवारी साधनमा रहेका यात्रुहरूलाई नजिकको होटल वा पसलसम्म पुर्याउन विभिन्न प्रहरी युनिट परिचालन गरिएको छ । “हामी सकेसम्म यात्रुहरूलाई सुरक्षित स्थानसम्म पुर्याउने व्यवस्था गर्दैछौं,” शाहले भने।
तपाईको प्रतिक्रिया दिनुहोस