नेपाल–चीन सडक सम्पर्क टुट्यो, बाढीले तातोपानी बन्दरगाहमा पनि जोखिम
बिहीबार रातिदेखिको अविरल वर्षापछि भोटेकोशी खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने प्रमुख मार्ग अरनिको राजमार्गमा ठुलो क्षति पुर्याएको छ।
भोटेकोशी गाउँपालिका लार्चा र तिपिङ क्षेत्रमा रहेका दुई पुल बगाएपछि राजमार्गमा सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए। उनले भने, “दुई वटा पुल बगाउँदा लार्चा, दश किलो, र साँघु बजारका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनेका छौँ।”
लगातारको वर्षा र बाढीका कारण भोटेकोशी गाउँपालिका क्षेत्रको बिद्युत आपूर्ति अवरुद्ध भएको छ। सोलार प्रणाली पनि काम नगर्दा नेपाल टेलिकमको टावर प्रभावित भएको र यसले गर्दा टेलिफोन सेवा समेत अवरुद्ध भएको अध्यक्ष शेर्पाले बताए। तातोपानी सुख्खा बन्दरगाहसमेत बाढीको जोखिममा परेको छ, जसले चीनसँगको व्यापारिक गतिविधिमा अवरोध पुर्याउने सम्भावना छ, विशेषगरी दशैंका लागि आवश्यक सामग्रीको आयातमा समस्या देखिएको छ।
बाढी र पहिरोले अरनिको राजमार्गमा सडक तथा पुलहरूमा व्यापक क्षति पुर्याएका कारण तत्काल मर्मत र पुनर्स्थापनाको चुनौती देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस