दरम खोला हाइड्रोले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्न लागिएको हो।
कम्पनीले एक अर्ब तीन करोड पाँच लाख रुपैयाँ जारी पूँजीमध्ये ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये १० लाख ३० हजार ५ सय कित्ता आयोजनाबाट प्रभावित स्थानीयहरूका लागि, २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि, ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकिएको छ ।
अब बाँकी रहेका २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्कासन गर्न लागिएको हो, जसको कुल मूल्य २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ हुन्छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। आवेदन छिटोमा साउन १९ गतेसम्म र ढिलोमा साउन २९ गतेसम्म दिन सकिनेछ ।
आईपीओ निष्कासनको लागि गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई 'IRN BB– (Double B Minus)' इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको जनाइएको छ । आयोजना सञ्चालनका लागि विद्युत अनुमतिपत्रमा अझै २८ वर्ष बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष र छुटमा लगानी फिर्ता हुने अवधि १७.९० वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस