बिरामी बोकेको बोलेरो दुर्घटना, चालक सहित ६ जना घाइते
कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा सोमबार बिहान बिरामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
कालिकोटबाट बिरामीलाई अक्सिजनसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। गाडी कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडाले चलाएका थिए।
दुर्घटनामा चालक सिंखडासहित गाडीमा सवार छैनै जना घाइते भएका छन्। घाइते हुनेहरूमा कालिकोटका १८ वर्षीय गंग शार्की, २ि१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने शार्की र २७ वर्षीया कैसी सार्की (बिरामी) रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका चालक सिंखडाको शरीरका विभिन्न भागमा चोट लागेको छ। अन्य घाइतेहरूको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ।
घटनालगत्तै उद्धार गरी सबै घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस